प्यूठान जिल्लाको वन जंगल सम्बन्धमा कुनै पनि पौराणीक कथा तथा कुनै ऐतिहासिक लिखत नपाईएता पनि बुढापाकाको भनाई अनुसार आजभन्दा ८०/९० वर्ष अगाडी यस जिल्लामा मान्छे बस्ननै डराउने घना जंगल थियो। यस जंगलमा भालु, चितुवा, कस्तुरी, रतुवा, व्वांसो लगायतका जनावर तथा डाँफे, मुनाल, मयुर, वनकुखुरा लगायतका थरिथरिका चराचुरुङ्गीहरु प्रशस्त मात्रामा पाईन्थे।
कृर्षि नै मुख्य पेशा भएको यस प्यूठान जिल्लामा २००७ साल अगाडी केही मात्रामा जंगलहरु फंडानी गरी आवाद गरेको पाईन्छ। तर पनि जनघनत्व कमी नै रहेकोले वन जंगल प्रशस्तनै थियो। तसर्थ पशुपालनमा कुनै खास बाधा थिएन। त्यस बेला वन सम्बन्धी खास ऐन कानुनहरु थिएन्न र वनजंगलको पूर्ण जिम्मेवारी तालुकदार, मुखिया, जिम्मुवालमा रहेको थियो। एक दुई रुपयांतिरे पछि आफ्ना नजिकका व्यक्ति विशेषलाई वनको जग्गा दिने प्रथा थियो। जसले गर्दा धेरै जसो जग्गा जमिन व्यक्ति विशेषको स्वावित्वमा गएको पाईन्छ।
जनसंख्याको द्रुततर बृद्धि हुँदै गएपछि जीविकोपार्जनको लागि साधन र श्रोतहरु सिमित हुदै गए। बढ्दो जनसंख्यालाई खाना पुऱ्याउन धौधौ हुन थाल्यो। कृषि उत्पादन बढाउनु पर्ने बाध्यताले तिरो तिरेको नाताले वन जंगल क्षेत्रको जग्गा पनि कृषि जग्गामा परिणत हुन थाले र बन जंगलको साविक अवस्थामा ह्रास हुँदै आयो। २००७ सालपछि औलोनियन्त्रण भएपछि यस जिल्लाका प्रमुख दुईनदीहरु झिमरुक र माडिखोलाको छेउ छाउको ठूलो वन जंगल कृषिको लागि मासिए। अहिले उक्त क्षेत्र कृर्षिको लागि उपर्युक्त क्षेत्र भएको छ। सुकुम्बासीहरु बाहिर बाट नआए पनि एउटै मान्छे कोट र बेसी गर्ने चलनले गर्दा डाँडा पाखा र बेसी सवै ठाउँमा मानिसहरु बसोबास गर्ने भएकोले सबै ठाँउमा वन जंगल तिव्र रुपमा मासिदै गएको पाईएको छ।
मुखिया, जिम्मुवालको प्रभुत्वपछि वन जंगलको संरक्षण तथा सदुपयोगको लागि वन ऐन २०१८ लागु भएपछि जिल्ला कार्यालय अन्तरगत शाखा कायम गरि १ रेञ्जर र वनपालेलाई सोकाम गर्ने जिम्मेवारी दिएको देखिन्छ। पछि आएर २०३४ सालमा प्यूठानवन डिभिजनको स्थापना भयो। उक्त डिभिजनले प्यूठान र रोल्पा दुई जिल्लाको काम हेर्ने गर्दथ्यो। २०४० सालमा प्यूठान र रोल्पा अलग अलग वन कार्यालय भए। २०४० देखि यस जिल्लाको वन प्रशासन र वन सम्बन्धि कार्यहरु जिल्ला वन कार्यालय प्यूठान ले गर्दै आएकोमा संघियताको कार्यान्वयन संग संगै २०७५ साल देखि डिभिजन वन कार्यालय, प्यूठान र यस अर्न्तगत सवडिभिजन वन कार्यालयहरु स्थापित भई कार्य हुँदै आएको छ।